काठमाडौं, २२ असोज । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ११ वर्षपछि नेकपा एमालेको सक्रिय राजनीतिमा औपचारिक रूपमा फर्किएकी छन्। एमाले केन्द्रीय कमिटीले उनलाई अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेता बनाएपछि बिहीबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित स्थायी कमिटी बैठकमा उनी पहिलोपटक सहभागी भइन्। बैठकअघि भण्डारीले ओलीबाट पद तथा गोपनीयताको शपथसमेत लिइन्।
भण्डारीको यो पुनरागमन सामान्य राजनीतिक जिम्मेवारीमा फर्किनु मात्रै होइन, एमालेभित्र लामो समयदेखि चल्दै आएको नेतृत्व र पुस्तान्तरणको विवादसँग जोडिएको छ। २०८२ मा भण्डारीले सक्रिय राजनीतिमा फर्किने घोषणा गरेपछि उनको सदस्यता नवीकरणलाई लिएर ओली पक्ष र भण्डारी पक्षबीच विवाद चर्किएको थियो। ओली पक्षले प्रक्रियागत प्रश्न उठाउँदै सदस्यता ‘पेन्डिङ’मा राखेको थियो भने भण्डारी पक्षले सदस्यता विधिसम्मत रूपमा नवीकरण भइसकेको दाबी गरेको थियो।
त्यसपछि एमालेभित्र भण्डारीको पक्षमा खुलेर आवाज उठाउने क्रम बढ्यो। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले समेत उनको सदस्यता रोक्ने निर्णयविरुद्ध फरक मत राखेका थिए।
गत महाधिवेशनमा भण्डारीको समर्थनमा पोखरेल ओलीविरुद्ध अध्यक्षका उम्मेदवार बने। तर ओली पुनः अध्यक्ष निर्वाचित भए र पोखरेल प्यानलबाट दुई जना मात्र पदाधिकारी निर्वाचित भए।
पछि एमालेले भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गर्यो र अहिले वरिष्ठ नेताको जिम्मेवारीसमेत दिएको छ। यससँगै एमालेमा नेतृत्व परिवर्तनको बहस तत्कालका लागि मत्थर भए पनि भण्डारीको नयाँ भूमिकाले ओलीपछिको नेतृत्व, पार्टीभित्रको शक्ति सन्तुलन र आगामी राजनीतिक दिशाबारे बहसलाई फेरि केन्द्रमा ल्याउने सम्भावना देखिएको छ।




सभापतिदेखि सहमहामन्त्रीसम्म भिडन्त, शुक्रबार कांग्रेसको शक्ति परीक्षण
नेपालको मैदानदेखि मलेसियाको क्रिकेट व्यवस्थापनसम्म : अब विनोद दासको नयाँ जिम्मेवारी
राप्रपा कोशी अधिवेशनमा ‘रक्सी र मासु’को विषयले विवाद
उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन