मेक्सिको सिटी । मेक्सिकोमा शुक्रबार एक पत्रकारको गोली हानी हत्या गरिएको छ । मानव अधिकारसम्बन्धी गैरसरकारी संस्था ‘आर्टिकल १९’ का अनुसार यस वर्ष देशमा हत्या गरिएका पत्रकारको संख्या नौ पुगेको छ ।
५२ हजारभन्दा बढी फलोअर्स रहेको समाचार वेबसाइट ‘पिनोटेपा कोमुनिका’ का सञ्चालक ५२ वर्षीय हामुराबी हुएस्का मान्जानोको दक्षिणी राज्य ओआक्साकामा हत्या गरिएको हो ।
राज्यका अभियोजकका अनुसार, एक सशस्त्र समूहले हुएस्का मान्जानो र अन्य दुई जनामाथि गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उनको मृत्यु भएको हो ।
हुएस्का मान्जानोले सञ्चालन गरेको वेबसाइटले उनी बसोबास गर्ने सहर सान्टियागो पिनोटेपा नासिओनालका राजनीतिक तथा स्थानीय विषयमा समाचार प्रकाशन गर्दै आएको थियो । पत्रकारिताका अतिरिक्त उनी ट्याक्सी चालकका रूपमा पनि काम गर्थे ।
मानव अधिकार संस्था ‘आर्टिकल १९’ ले घटनाको अनुसन्धान गर्दा उनको पत्रकारितासम्बन्धी कामलाई प्राथमिकतामा राख्न अभियोजकको कार्यालयसँग माग गरेको छ । संस्थाले सामाजिक सञ्जाल एक्समार्फत पत्रकारको हत्याको निष्पक्ष अनुसन्धान गर्नसमेत आग्रह गरेको छ ।
पत्रकारहरूको सुरक्षा र प्रेस स्वतन्त्रताका दृष्टिले मेक्सिको विश्वकै जोखिमपूर्ण देशमध्ये एक मानिन्छ । ‘रिपोर्टर्स विदाउट बोर्डर्स’ का अनुसार सन् १९९४ यता मेक्सिकोमा १५० भन्दा बढी सञ्चारकर्मीको हत्या भइसकेको छ ।
पत्रकारमाथि हुने हिंसा र हत्याका घटनाले देशमा स्वतन्त्र पत्रकारिता तथा स्थानीय मुद्दाको रिपोर्टिङमा गम्भीर चुनौती खडा गर्दै आएका छन् ।




‘बालेन इमानदार भएको भ्रममा नपरौँ, ३५ वर्षको लुटतन्त्र रास्वपाले ६ महिनामै माथ गर्यो’: दिनेश त्रिपाठी
जनमत पार्टीको केन्द्रीय सचिवमा संगीतकार तथा गायक सन्तोष राज सहनी निर्वाचित
नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा
कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार विनिता खड्का पक्राउ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन