काठमाडौं, १३ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी केन्द्रीय महाधिवेशनलाई लक्षित गर्दै देशभरका करिब १ लाख १० हजार क्रियाशील सदस्यको सदस्यता अद्यावधिक गरेको जनाएको छ। पार्टीको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ।
पार्टीका नेता राजाराम श्रेष्ठका अनुसार वडा, नगर, निर्वाचन क्षेत्र तथा केन्द्रमा पार्टी संगठनसँग आबद्ध भएर सक्रिय राजनीतिमा सहभागी सदस्यहरूको सदस्यता अद्यावधिक गरिएको हो। यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा आयोजना हुने पार्टीको केन्द्रीय महाधिवेशनका लागि सदस्यता अद्यावधिक गरिएको उनले जानकारी दिए।
राप्रपामा विगतमा करिब डेढ लाख क्रियाशील सदस्य रहेकोमा अहिले सदस्यता अद्यावधिक गर्दा करिब १ लाख १० हजार कायम भएको पार्टीले जनाएको छ।
महाधिवेशनका लागि देशभरका क्रियाशील सदस्यबाट प्रतिनिधि छनोट गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको नेता श्रेष्ठले बताए। पार्टीको व्यवस्थाअनुसार प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट तीन महिलासहित नौ जना महाधिवेशन प्रतिनिधि निर्वाचित हुने व्यवस्था गरिएको छ।
राप्रपाले केन्द्रीय महाधिवेशनको तयारीस्वरूप ७६ जिल्ला अधिवेशन तथा पाँच प्रदेश अधिवेशन सम्पन्न गरिसकेको छ। पार्टीका विभिन्न तहका अधिवेशनबाट निर्वाचित अध्यक्षहरू पदेन महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुने व्यवस्था गरिएको छ।
नेता श्रेष्ठका अनुसार पालिका, प्रदेशसभा, संघीय निर्वाचन क्षेत्र, जिल्ला तथा प्रदेश अधिवेशनबाट निर्वाचित अध्यक्षहरू स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनेछन्।
महाधिवेशन प्रतिनिधि छनोटमा युवा सहभागितालाई समेत प्राथमिकता दिइएको पार्टी नेता केशव श्रेष्ठले जानकारी दिएका छन्। उनका अनुसार प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिमा ४० वर्षमुनिका कम्तीमा एक जना युवाको सहभागिता सुनिश्चित गरिएको छ।
आगामी मङ्सिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी राजनीतिक दिशा र संगठनात्मक रणनीति तय गर्ने अपेक्षा गरिएको छ।








किस्ट शिक्षण अस्पताल र मेदान्ता बीचको एक बर्षे सहकार्य पुरा
राराब क्याम्पसमा २० करोडको घोटाला ! हिसाब माग्दा प्रमाण नै खरानी
चेक अनादर मुद्दामा कांग्रेस नेता कान्छाराम तामाङविरुद्ध आज अदालतमा सुनुवाइ
टिप्पणीहरू
0 प्रकाशित टिप्पणीटिप्पणी र Like गर्न निःशुल्क सदस्य खाता आवश्यक छ।
खाता बनाउनुहोस्लगइन